काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको कुरा अन्तिममा नेताहरूकहाँ गएर जोडिने गरेको बताएका छन्। फरक–फरक भ्रष्टाचारका काण्ड भने फरक–फरक नेतासँग ठोकिने गरेको उनको भनाइ छ।
शनिबार चितवन-काठमाडौं प्रजातान्त्रिक संगमको १२औं अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले हरेक दिन नयाँ–नयाँ भ्रष्टाचार काण्ड आइरहेको बताए।
‘सुन काण्ड त बिलाइसक्यो। अहिले एनसेल काण्ड आएको छ। एनसेल मात्रै होइन, कुनै पनि भ्रष्टाचार राजनीतिज्ञ, कर्मचार र व्यापारी नमिलिकन हुनै सक्दैन। र एनसेल जस्तो काण्ड त हुनै सक्दैन।’
उनले सबैभन्दा ठूला मिटरब्याजी बैंकहरू भएको आरोप पनि लगाए। ‘म बोलिरहेको छु। ब्यांकर्सहरू मसँग रिसाउनु पनि भएको छ’, उनको भनाइ थियो, ‘सबैभन्दा ठूलो मिटरब्याजी त ब्यांकर्सहरू नै भए भन्छु म, बैंकहरू भए भनेर त बोलिरहेकै छु म। हो होइन मलाई थाहा छैन। तर मैले भन्ने गरेको छु।’
उनले देशको आर्थिक कुरा गर्दा सबै चिज अप्ठ्यारोमा भएको तर बैंकहरू भने फस्टाइरहेको र बोनसहरू बाँडिरहेको बताए। उनको प्रश्न थियो, ‘कसरी हुन्छ यो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।