काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन्। उनी दोहा २१औँ सम्मेलनमा सहभागी हुन शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।
डिसेम्बर १० अर्थात् आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा परराष्ट्रमन्त्री साउदले इजरायलमा वेपत्ता भएका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनको सचिवालयले जनाएको छ।
कतारमा उनले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ।
मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।
परराष्ट्रमन्त्री साउदले शुक्रबार मात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।