काठमाडौं- नेपाली कंग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताएका छन्। रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको शुक्रबार काठमाडौंमा लोकर्पण गर्दै उनले यस्तो बताएका हुन्।
उनले असन्तुष्टिहरु संविधान र अहिलेको व्यवस्थाका विरुद्ध मुखरित हुन नदिन संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका लागि कांग्रेस सचेत रहेको उल्लेख गरे। विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेस अघि बढ्नुपर्ने भन्दै उनले गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि बताए।
लेखकले भने, ‘हाम्रो शासकीय व्यवस्था र संविधान कस्तो छ भने कुनै पार्टीको स्पष्ट बहुमत आउँदैन। त्यसैले गठबन्धनको संस्कृतिमा जानुको विकल्प छैन। हामी त्यसमै गइरहेका छौं।’
केही कमी-कमजोरी, केही असन्तुष्टि, सरकारले र पार्टीहरुले राम्रोसँग काम गर्न सकेनन् कि भन्ने चिन्ता र चासो जनतामा भएको र नेपाली कांग्रेस यो विषयमा गम्भीर हुन जरुरी रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।