काठमाडौं– सभामुख देवराज घिमिरेले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्री प्रकरणको अनुसन्धान गर्नैपर्ने बताएका छन्। एनसेलको सेयर खरिद–बिक्री प्रकरण रहस्यमय बनेको समेत सभामुख घिमिरेले दाबी गरेका छन्।
बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। सभामुख घिमिरेले एनसेलको सेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आएको बताए।
संसद्ले एनसेल खरिद–बिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको घिमिरेले उल्लेख गरे। संसद् बन्द रहेका बेलामा संसदीय समितिमार्फत् यस विषयमा छलफल र बहस भइरहेको उनले उल्लेख गरे।
सभामुख घिमिरेले भने, ‘एनसेलको सेयर खरिदबिक्री प्रकरण रहस्यको र अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आइरहेको छ। जसरी अरुको चासो गइरहेको छ, संसद्मा पनि त्यत्तिकै र अझ त्यो भन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ। संसद् अहिले स्थगित, छ तर संसदीय समितिहरु क्रियाशील रुपमा अघि बढिरहेका छन्। यसमा पनि २ वटा संसदीय समितिले यसलाई छलफलका विषय बनाएर तुरुन्तै बैठक गरेका छन्। सरकारसँग स्पष्टीकरणका लागि माग गर्ने लगायतका कामहरु संसदीय समितिबाट भइरहेका छन्। सिमहरु नष्ट गर्ने भन्नेकुराहरु सुनियो, यस्तो गर्दा देशको सम्पत्ति पनि क्षति हुनपुग्छ। यी कुरामा विचार गरेर यसको छानबिन, निस्कर्षमा जानुपर्छ। भौतिक क्षति नहुने गरी कार्यक्रम अघि बढाउन जरुरी हुन्छ।’
सभामुख घिमिरेले एनसेलको सेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै भइरहेको विरोधमा पनि भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।