काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिद-बिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटक भएको आरोप लगाएका छन्। बुधबार साँझ पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
एनसेलमा गैरकानुनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने भन्दै उनले यो प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता भएको आशंका गरे। ‘एनसेलले कर नतिरेको भए तत्काल कारबाही हुनुपर्छ। गैरकानुनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभई कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्छ,’ लामिछानेले भने।
कर छली लगायतका विभिन्न गैरकानुनी काममा वृहत अनुसन्धान गर्नुपर्ने भन्दै उनले एनसेल खरिद-बिक्री प्रकरणबारे अर्थमन्त्री डा प्रकाशशरण महतले थाहा छैन भनेर दिएको अभिव्यक्ति लायक नभएको उल्लेख गरे।
लामिछानले भने, ‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुनसक् । त्यहाँ कयौँ कुरा हुनसक्छ। त्यो एउटा छानबिनको विषय हो। तर अहिले जुन खरिद-बिक्री भएको छ, भएको हो कि होइन? होइन भने किन बबाल गरेको? हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो कि पाएन? पाएको छैन भने त्यो गैरकानुनी हो कि होइन। गैरकानुनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने कि छल्ने मानिसलाई गएर समात्ने हो? यो बेकारको नाटक हो।’
रास्वपाको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ। रास्वपाले नयाँ चयन भएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहणसमेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।