काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई छलफलका लागि बोलाउने निर्णय गरेको छ।
आजियटाले एनसेलको ८० प्रतिशत सेयर सतीशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेको विषय विवादमा परेपछि समितिले एनसेलका सीईओ जाबोर कायुमोभलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो।
बैठकमा सांसदहरुले एनसेल मात्र नभएर आजियटाकै सीईओलाई बोलाउन माग गरेका थिए। रास्वपा सांसद स्वर्णिम वाग्लेले आजियटाका सीईओलाई पत्र काटेर बोलाउन समितिलाई आग्रह गरेका थिए।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने एनसेल आजियटालाई कठघरामा उभ्याउन कानुनी अफ्ठ्यारो रहेको बताएका छन्। समिति बैठकमा उनले एनसेलमा तीन लेयरका सीईओ भएको र नेपालको दूरसञ्चार ऐनको दायरामा ल्याउन कानुनी प्रावधान नभएको प्रष्टीकरण दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।