काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको सेयर खरिद-बिक्रीमा अर्बौं घोटाला भएको अनुमान लगाउन सकिने बताएका छन्। मंगलबार कांग्रेसको ओखलढुंगा सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रथम दृष्टिमै सो अनुमान गर्न सकिने बताएका हुन्।
महामन्त्री थापाले कांग्रेस सम्मिलित सरकारले कानुनको दुरुपयोग गर्नेले दण्ड पाउने विश्वास दिलाउन सक्नुपर्ने बताए। 'कुनै पनि काममा यदि कहीँ कतैबाट पनि कानुनको दुरुपयोग भएको होस्, जतिसुकै ठूलो मान्छे यसमा संलग्न भएको होस्, यदि कुनै ठूलै नेताको सम्पत्ति कहीँ कतै चोर बाटोबाट लगेर कालो धन फेरि नेपालमा लगानीको नाममा भित्र्याउने प्रयास भएको छ भने पनि, जोसुकै होस्। त्यसले दण्ड पाउँछ भन्ने कुराको विश्वास कांग्रेसले दिलाउन सक्नुपर्छ', उनले भने।
उनले अहिले नागरिकको सबैभन्दा ठूलो आक्रोश भ्रष्टाचारको विषयमा रहेको बताए। 'प्रत्येक दिन बिहान रेडियो सुन्दै गर्दा कुनै न कुनै नयाँ काण्डको बारेमा सुनिन्छ। केही समयअघि सुन काण्डका बारेमा सुनिएको थियो। त्यसभन्दा अगाडि अर्को काण्डको बारेमा सुनिएको थियो', थापाले भने, 'हिजोआज तपाईंहरूले कुनै पत्रपत्रिका खोल्नुभयो भने एनसेलको अर्बौंको घोटालाको बारेमा सुनिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।