कर्णाली– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिएका छन्। कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदै आएको काठको सामग्री हो।
एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा सोमबार दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा मुखिया शाहीले अध्यक्ष ओलीलाई कोसी उपहार दिएका हुन्। उपहार ग्रहणपश्चात एमाले अध्यक्ष ओलीले आफूले लगाएको फूलको माला फुकालेर राउटे मुखिया शाहीलाई लगाइदिँदै भने, ‘राउटे समुदायको अस्तित्व बचाएर जीविकोपार्जन सहज बनाउन, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्याउन तथा नीतिगत कार्यक्रम बनाएर सहयोग गर्न एमाले तयार छ।’
स्वागत कार्यक्रममा राउटे मुखिया शाहीले आफ्नो समुदायको पुर्ख्यौली पेसा नै संकटमा पर्दै गएका कारण बाँच्न समस्या भएको दुःखेसो पोख्दै भने, ‘हामीलाई जङ्गल बस्न समस्या छ। हाम्रो समस्या बुझला भनेर तपाईंलाई भेट्न आयाको। काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै सहयोग गर्या। अब पनि केही सहयोग गरन्ना भनेर भेट्न आयाका हौँ।’
राउटे मुखिया शाहीले चिसोमा न्यानो लुगा दिन र खाद्यान्न उपलब्ध गरिदिन पनि अध्यक्ष ओलीसँग आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।