काठमाडौं- सर्वोच्च अदालतमा सिफारिस भएका ६ जनामध्ये ३ जना प्रस्तावित न्यायाधीश विरुद्ध ९ वटा उजुरी परेको छ। संसदीय समितिमा उनीहरु विरुद्ध ठोस उजुरी एउटा मात्र रहेको छ।
न्यायाधीश सारंगा सुवेदीलाई उच्च अदालतमा रहँदा गरेको निर्णयका आधारमा एउटा उजुरी परेको छ। आरती शाह पक्षले उनलाई न्यायीक बिचलन भएर थुनछेक आदेश गरेको भन्दै उजुरी गरेको हो।
सबभन्दा धेरै उजुरी सुवेदी विरूद्ध परेको छ। उनी विरूद्ध पाँच उजुरी दर्ता भएका छन्। टेकप्रसाद ढुंगाना विरूद्ध तीन वटा र अब्दुल अजिज मुसलमान विरूद्ध एउटा उजुरी परेको छ। ढुङ्गाना जुनियर भएपछि रोलक्रम मिचेर सिफारिस गरिएको लगायतको दावी उजुरीमा गरिएको छ।
उच्च अदालतको न्यायाधीश हुँदा सुवेदी सहितको संयुक्त इजलासले गरेको निर्णयले अन्याय भएको भन्दै माइतीघरमा छोरी हत्याको घटनामा न्याय माग्दै अनसन बसेका निर्मलादेवी साह र बिनोदप्रसाद साहले उजुरी दिएका छन्।
अन्य उजुरीहरु समग्रमा परेको सुनुवाइ समितिले जनाएको छ।
तीन जना विरुद्ध परेन उजुरी
उच्च अदालत पाटनको कामु मुख्य न्यायाधीश रहेका महेश शर्मा पौडेल, कानुन व्यवसायीबाट सिफारिसमा परेका सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल विरुद्ध कुनै पनि उजुरी दर्ता भएन। उनीहरु विरुद्ध पनि सुनुवाइ समितिले उजुरी दिन सार्वजनिक आह्वान गरेको थियो।
न्यायपरिषद्ले २०८० साल मंसिर ४ गते सर्वोच्चमा रिक्त ७ मध्ये ६ पदमा न्यायाधीश सिफारिस गरेको थियो। उक्त सिफारिस संविधान अनुसार संसदीय सुनुवाइका लागि संघीय संसद्को सुनुवाइ समितिमा आएको थियो।
अब सुनुवाइ समितिले उनीहरुको नाममा उजुरी खोल्ने अनि सुनुवाइ गर्ने मिति तोक्छ। लगत्तै सुनुवाइ समितिले सुनुवाइ गर्दै अनुमोदनको निर्णय गर्छ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्ने छन् भने प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले सपथ गराउनेछन्। योसँगै सर्वोच्चमा २० न्यायाधीश हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।