काठमाडौं– एक्जियाटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ५ प्रश्न गरेकी छन्।
एक्जियाटाले नेपालबाट निस्किँदा निकालेको वक्तव्यले नेपालको अन्तर्राष्ट्रिय छविमा आँच पुग्ने र भविष्यमा वैदेशिक लगानी निरुत्साहित हुने हुँदा त्यसको प्रतिकारका उनले आफ्ना प्रश्नहरूको सम्बोधन आवश्यक देखेको बताएकी छन्।
यस्ता छन्, सांसद श्रेष्ठका प्रश्नहरूः
१) नेपाल दूरसञ्चार प्राधिकरणबाट पूर्व स्वीकृति नलिइ प्रमुख शेयरधनी एक्सियाटा बाहिरिँदा परिणाम के हुन्छन्? एक्सियाटाले बेहोर्नुपर्ने कुनै जरिवाना वा सजाय हुन्छ? यदि हुन्छन् भने कसरी संकलन प्रक्रिया के हुन्छ?
२) टेलियासोनारले एक्जियाटालाई एनसेल बिक्री गर्दा निर्धारण गरेको र एक्जियाटाले कबोल गरेको क्यापिटल गेन्स कर पूर्ण भुक्तानी गरेको छ कि छैन? यस बाहेक ठूला करदाता कार्यालयले थप निर्धारण गरेको कर बक्यौता कति छ र एक्सियाटा बाहिरिएको अवस्थामा तिर्ने जिम्मा कसको हुन्छ?
३) चलिरहेको व्यवसाय किनेको रकमभन्दा ९६ प्रतिशत कम रकममा एनसेल बेच्नु अस्वभाविक देखिन्छ। यसमाथि आगामी ६ वर्षसम्मको मुनाफामा भने एक्जियाटाकै हक लाग्ने भनेर सम्झौता भएको सुनिन्छ। यो सम्झौता २५ प्रतिशत क्यापिटल गेन करको सट्टा ५ प्रतिशत लाभांश कर तिर्न रचिएको प्रपञ्च त हैन? यति कम मूल्यमा बिक्री भइरहँदा खरिदकर्ता र बिक्रिकर्ता बीच अन्य देशमा रहेको सम्पति सट्टा–पट्टा गरी दुवै देशमा क्यापिटल गेन कर छल्ने योजना त हैन भनेर खोज गर्न पर्ने हो कि?
४) नेपालमा दुरसञ्चार प्रदायक संस्थाले सेवा लाइसेन्स नवीकरण दस्तुर कति लाग्छ?
५) निजी स्वामित्वमा रहेको दुरसञ्चार संस्था निश्चित वर्षपछि सरकारी स्वामित्वमा वा पब्लिक लिमिटेडमा जाने प्रावधान कस्तो हो? यो प्रावधान रहँदा निजी स्वामित्व अवधि सकिन लाग्दा स्वामित्व हस्तान्तरणमा नियमन गर्न पर्ने हो कि होइन?
![Sumana_Shrestha-1701677662.jpg](https://nepallive.net/uploads/posts/Sumana_Shrestha-1701677662.jpg?timestamp=1701677663675)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।