दैलेख– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन्।
मध्यपहाडी क्षेत्र केन्द्रित पार्टीको संकल्प यात्राका क्रममा ओलीले दैलेखमा ८ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै यस्तो बताएका हुन्। उनले चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताए।
राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने ओलीले उल्लेख गरे। उनले नेताहरु राजनीतिका मात्रै नभइ विकासका नेता हुनुपर्ने बताए।
विकास अरु देशले आएर नगर्ने भन्दै अध्यक्ष ओलीले आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए।
ओलीले भने, ‘अबका पोल्टिकल पार्टीहरुले पोल्टिक्स मात्रै गरेर हुँदैन। विकासका नेता हुनुपर्दछ। उनीहरुले विकासको बारेमा जानकारी राख्नुपर्छ। कसरी विकास हुन सक्दछ, के हुनसक्छ यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ। यसमा तत्काल काम थालिहाल्नुपर्ने आवश्यकता छ। किनभने कुनै पनि देश अर्काले आएर बनाइदिँदैन। आफ्नो देश आफैँले बनाउने हो। आयात बढेको छ, निर्यात छैन, झनै घटिरहेको छ। हामीसँग निर्यात गर्ने वस्तु उत्पादन नै छैन। हाम्रो निर्यात भनेको धेरैजसो नक्कली निर्यात छ। बाहिरबाट सुपारी ल्याउने निर्यात गर्ने। नक्कली निर्यातलाई घटाउने हो भने सक्कली निर्यात वास्तवमा अत्यन्तै कम छ। अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ। चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।