त्रिवेणी (रुकुम पश्चिम)- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भूकम्पपीडितका अस्थायी आवास छिटो निर्माण गरिसक्न निर्देशन दिएकी छिन्।
भूकम्प प्रभावित क्षेत्रका लागि राहतसहित रुकुम पश्चिम पुगेकी शर्माले भूकम्पपीडितलाई चिसोले थप जोखिम बढाएकाले छिटो अस्थायी आवास निर्माण गरी पीडितलाई छानामुनि बसाल्न जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएकी हुन्।
जिल्लास्थित विपद् व्यवस्थापनको समूहले सोहीअनुसार जनशक्तिलाई प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो परिचालन गर्न उनले आग्रह गरिन्।
मन्त्रिपरिषद्ले यसअघि नै प्रावित क्षेत्रमा अस्थायी आवास निर्माणको लागि सुरक्षाकर्मीको समूह परिचालन गर्ने निर्णय गरिसकेको छ।
भूकम्प प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न सरकारका तर्फबाट प्राप्त हुने पत्रलाई पर्खिरहन नपर्ने उल्लेख गर्दै मन्त्री शर्माले नेपाल सरकाबाट प्राप्त हुने पत्र आउँदै गर्छ, भूकम् पप्रभावित क्षेत्रमा काम गर्न पत्रलाई पर्खिरहन आवश्यक नरहेको बताइन्।
‘प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको लागि सरकारका तर्फबाट प्रक्रिया हुँदै गर्छ, जनशक्ति परिचालन गरेर काम गर्दा केही बिग्रिँदैन, बरु जतिसक्दो छिटो अस्थायी आवास निर्माणमा जोड दिनुहोस्, विपद्को समयममा सबैको हातेमालो आवश्यक पर्छ, सबैसँग सहकार्य गरेर काम अगाडि बढाउनुहोस्,’सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्मा भनिन्।
अस्थायी आवास निर्माण ढिलाइ भएको उल्लेख गर्दै उनले उद्धार र उपचारमा खटिएको जसरी अस्थायी आवास निर्माणमा पनि नतिजा देखाउन र चिसो बढ्दै गएकाले अस्थाया आवास निर्माण ढिला नगर्न निर्देशन दिइन्। विपद्को बेला देखिएको सक्रियताप्रति आम जनसमुदायलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।