काठमाडौं- प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। निर्वाचन यही माघ ११ गते हुँदैछ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरुको उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांश अनुसार उम्मेदवार बन्न नपाउने बताएको हो।
त्यस्तै, आयोगबाट राष्ट्रिय सभा निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ। प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरु सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुनेछन् र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। मतदाता नामावली आयोगको वेबसाईट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुनेछ।
पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ। मनोनयन दर्ता पश्चात उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुस २४ गते हुनेछ।
मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ। उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भए पश्चात उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन २ बजे सम्पन्न हुनेछ।
उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ। मतदान कार्य माघ ११ गते ९ बजेदेखि ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ।
मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।