काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका छन्। मध्यपहाडी क्षेत्र केन्द्रित पार्टीको संकल्प यात्राको क्रममा शनिबार अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको ओलीले दाबी गरे। सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको समेत उनले आरोप लगाए।
अध्यक्ष ओलीले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमाले बाहेक अरु राजनीतिक दलहरुले गर्न नसक्ने जिकिर गरे।
ओलीले भने, ‘म एमालेका नेता कार्यकर्ताहरुलाई भन्न चाहन्छु, अहिले पनि अरु पार्टीमा अल्मलिएर रहेका साथीहरुलाई नेकपा एमालेमा आमन्त्रण गर्नुस्। एमालेले सरकार छोडेपछि देशको अवस्था के भयो ? सबैले देख्नुभएको छ। बुझ्नुभएको छ। देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ। भ्रष्टाचार, तस्करी, मौलाएको छ। सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरेर त्यसको विकास भइरहेको छ। यस्तो अवस्थामा यस स्थितिबाट परिवर्तन गर्नका लागि हामीले देख्यौँ, नेकपा एमाले बाहेक अरु कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन।’
अध्यक्ष ओलीले आफ्नो पार्टीको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए। उनले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने उल्लेख गर्दै नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरुले सम्पन्नता भएको देश गरिब रहनसक्ने देश नभएको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।