काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ।
जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको तर्फबाट बिहीबार जवाफी बहस सकिएसँगै सुनुवाइ सकिएको हो। उच्च अदालतले फैसला भने शुक्रबार सुनाउने बताइएको छ।
गत एक सातादेखि उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सुनुवाइ भइरहेको थियो। बुधबार सरकारी पक्षबाट सरकारी वकिलहरुले बहस सकेका थिए। बिहीबार नै फैसला सुनाउने बताइए पनि जवाफी बहस सक्न समय लागेका कारण शुक्रबार फैसला सुनाइने अदालतका एक अधिकारीले जानकारी दिए।
अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको हकमा जिल्लाकै थुनछेक आदेशलाई सदर गर्ने वा आदेश खारेज गर्ने भन्ने निर्णय सुनाउनेछ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौं रकम उठाएर ठगी गरेको प्रकरणमा पूर्व उपप्रधानमन्त्री र पूर्व गृहमन्त्री सहितका व्यक्ति प्रतिवादी छन्।
नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। काठमाडौं जिल्ला अदालतले गत असार १ गते सुनाएको थुनछेक आदेशविरुद्ध उनीहरुले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।