काठमाडौं– मन्त्रिपरिषद्को बुधबारको बैठकले सामाजिक सञ्जालको प्रयोगलाई नियमन (सञ्चालन तथा व्यवस्थापन) गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। साथै, नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।
जाजरकोट भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माणका लागि जनशक्ति अभाव भएमा प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा समितिबाट निर्णय गराइ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सैनिक तथा प्रहरीहरूलाई निर्माण कार्यमा खटाउने निर्णय गरिएको छ।
‘भूकम्प प्रभावित जिल्लामा यसरी खटाउन पर्याप्त सैनिक तथा प्रहरी उपलब्ध नभएमा भूकम्प प्रभावित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णयबाट माग भए बमोजिम नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट तत्काल त्यस्तो जनशक्ति उपलब्ध गराउने,’ निर्णयमा भनिएको छ।
मन्त्रिपरिषद् बैठकले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष पदमा साविक भ्रमरपुरा- ५, महोत्तरी निवासी सुवोधकुमार शर्मालाई मनोनयन गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा साविक चोकचिसापानी गाविस- ५, तनहुँ निवासी डा गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।