काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा बिहीबारबाट सुरु हुँदैछ। पदयात्राको शुभारम्भ पार्टी अध्यक्ष केपी ओलीले गर्दैछन्।
‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको यो पदयात्रा मध्यपहाडी क्षेत्र केन्द्रित हुनेछ। एमालेले संकल्प यात्राको सुरुवातका लागि महाकाली किनारको सीमावर्ती बजार बैतडीको झुलाघाट रोजेको छ।
पदयात्रा शुभारम्भका लागि एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेता बैतडी पुगिसकेका छन्।
बिहान साढे ८ बजे अध्यक्ष ओलीले पदयात्राको उदघाटन गर्ने एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए। अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईलगायतका नेताहरू छन्।
एमालेले यो अभियानका क्रममा सुदूरपश्चिममा तीन दिनसम्म विकास र समृद्धिका लागि बहस हुने बताएको छ। १९ दिनमा सङ्कल्प यात्राको पुस ५ गते सन्देश प्रवाह गर्ने गरेर काठमाडौंमा समापन हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।