काठमाडौं- मन्त्रिपरिषद्को बैठकले विशेष अदालतको अध्यक्षसहित सदस्य पदमा सिफारिस भएका व्यक्तिहरुलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता रेखा शर्माले न्याय परिषद्को सिफारिस अनुसार उनीहरुलाई जिम्मेवारी तोक्ने निर्णय गरिएको बताइन्।
मंसिर ५ गते बसेको न्याय परिषद्को बैठकले विशेष अदालतमा नयाँ टिम सिफारिस गरेको थियो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेललाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको थियो। परिषद्को बैठकले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। कुँवर उच्च अदालतका न्यायाधीश हुन्।
त्यस्तै विशेष अदालतको सदस्यमा तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापालाई नियुक्तिका लागि सिफारिस गरिएको थियो। उनीहरुलाई पनि नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। खुसीप्रसाद थारु भने सदस्यमा यथावत् छन्। अब प्रधानन्यायाधीशले सपथ गराउँदै उनीहरुले जिम्मेवारी सम्हाल्नेछन्। विशेषमा ललिता निवाससहित केही ठूला भ्रष्टाचार मुद्दा विचाराधीन रहेका छन्।
सैनिक अदालतको अध्यक्षमा पौडेल
मन्त्रिपरिषद्को बैठकले सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ। सैनिक अदालतमा तीन न्यायाधीशको इजलास हुन्छ। दुई जना सैनिक प्राड विभागबाट सहभागी हुन्छन्। सैनिकहरुलाई कोट मार्सलका लागि इजलास गठन हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।