विराटनगर- कोशी प्रदेश प्रदेश सभामा सोमबारदेखि विनियोजन विधेयकमाथि छलफल सुरु भएको छ। आजदेखि ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि छलफल सुरु भएको हो।
प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएपछि विधेयकमाथिको छलफल सुरु भएको थियो।
छलफलमा कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी, खिनु लङ्वा लिम्बु, नारायणबहादुर मगर, विदुरकुमार लिंथेप, सिर्जना राई, कमला दर्नाल, रमेशकुमार बस्नेत, तिलचन पाठक, छविलाल चूँडाल, पाँचकर्ण राई, गीतादेवी रेग्मी, राधाकृष्ण खनाल र जयप्रकाश चौधरीले धारणा राखेका थिए।
बैठकमा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ९४(१)(ख) बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ संशोधन सहित दफाबार छलफलका लागि सुशासन तथा योजना समितिमा पठाइएको सभाध्यक्ष हाजी इसराइल मन्सुरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।