काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिरोलाई भिलेन र भिलेनलाई हिरो बनाउन सामाजिक सञ्जाल प्रयोग हुन सक्ने बताएका छन्। सोमबार नेकपा माओवादी केन्द्रको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले त्यसका लागि सामाजिक सञ्जालको सदुपयोग या दुरुपयोग हुन सक्ने बताए।
उनले इतिहासको निर्माता जनता भएकाले जनता नै हिरो भएको बताए। 'इतिहास निर्माण गर्ने असली हिरो जनता नै हो', उनले भने, 'अलौकिक वा त्यस्तै प्रचारबाट तथाकथित रुपमा तयार पारिएका मान्छे हिरो होइनन्। श्रमजीवी जनता हिरो हुन्।'
प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय पहिचानलाई अझ सुदृढ गर्न र राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्न सरकार गम्भीर रुपले लागिरहेको दाबी गरे।
नेपालको सन्तुलित र असंलग्न परराष्ट्र नीतिलाई अझ सुदृढ गर्ने, सबै मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बनाउने र नेपालको हितको निम्ति अधिकतम लाभ प्राप्त गर्ने वातावरण बनाउने कुरामा सरकार धेरै नै गम्भीर भएको उनले थपे। 'मैले त कहिलेकाहीँ भन्छु, यो पटक हामी गर्व गर्न लायक ठाउँमा छौँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।