काठमाडौं- सभामुख देवराज घिमिरेले संसदीय समितिका गतिविधि एवं क्रियाकलापलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन्। प्रतिनिधि सभा मातहतका १० विषयगत समितिका सभापतिसँगको बैठकमा उनले समिति बैठकमा देखिएको कोरम सम्बन्धी चुनौती र प्राप्त विधेयकको जिम्मेवारीलाई समयमै सम्बोधन गर्न सुझाव दिए।
सभामुख घिमिरेले भने, ‘विधेयकको कामलाई प्राथमिकता दिनूस्, निर्देशन किन कार्यान्वयन भएन समीक्षा गर्नूस्, समितिको कार्यक्षेत्रमा देखिएको दोहोरोपन अन्त्य गर्नूस्।’ उनले समितिमा रहेका एक दर्जन विधेयकलाई संसद्को आगामी अधिवेशन सुरु हुनासाथ पेस गर्न सकिने गरी तयारी गर्नसमेत निर्देशन दिए।
उनले भने, ‘आफ्नो कार्यक्षेत्र के हुन सक्छ पहिल्याऔं, देखिएका समस्या समाधान गर्न आपसमा समन्वय होस्, अन्योल र अप्ठ्यारो परेमा सभामुखसँग परामर्श गरौँ, विधेयकको काम सक्ने गरी कार्यतालिका र योजना बनाऔँ।’ लिइएका नीतिगत निर्णय वा स्थलगत प्रतिवेदनले देखाएका विषयलाई मन्त्रालय र सम्बन्धित ठाँउमा किन भएन भन्नेमा पनि त्यतिकै ध्यान पुर्याउन उनले सुझाव दिए।
निर्देशनप्रतिको गम्भीरताको अभावलाई पूर्णता दिन मुख्य, प्रमुख र सचेतकमार्फत सम्बन्धित दलको ध्यान जान जरुरी रहेको बताउँदै सभामुख घिमिरेले समितिका निर्देशन र प्रतिवेदन कार्यान्वयनका लागि आफ्नो पूर्णसाथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
यसअघि बैठकमा सभामुख घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकमार्फत संसदीय समितिका बैठक यथाशीघ्र आह्वान गर्न र कोरम पुर्याएर अघि बढ्न निर्देशन दिएको राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।
सदनलाई बलियो र मर्यादित बनाउन सकिएन भने जनतामा संसद्प्रतिको आस्था र निष्ठा कमजोर भई व्यवस्था र नेतृत्वप्रति नै आघात पुग्न सक्नेतर्फ समयमै ध्यान पुर्याउनु पर्नेतर्फ सभामुखले सबैको ध्यानाकर्षण गराएको खतिवडाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।