भरतपुर– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको बताएका छन्। यद्यपि संसद्ले चाह्यो भने जे पनि हुनसक्ने उनको भनाइ छ।
सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालले सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको बताए।
कोइरालाले भने, ‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ। यहाँ हरेक कुराको सम्भावना छ। संसद्ले चाह्यो भने जे पनि हुनसक्छ।’
नेता कोइरालाले मुलुकको उन्नति र प्रगतितर्फ सरकारको ध्यान नगएको टिप्पणी गरे। ‘मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन। मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन,’ कोइरालाले भने।
उनले गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्ने बताए। संघीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनको भनाइ छ। कोइरालाले भने, ‘जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।