काठमाडौं- राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रको वातावरण र त्यसमा निर्भर समुदायलाई गम्भीर असर परिरहेकोतर्फ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ।
समितिको शुक्रबार (मंसिर ८ गते) बसेको बैठकले हिमालय क्षेत्रको पर्यावरणीय सन्तुलनका लागि राष्ट्रियस्तरमा पहलकदमी लिन र अन्तर्राष्ट्रिय समुदायको भूमिकाका लागि समेत प्रभावकारी पहल गर्न प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।
सोहीअनुसार 'कोप २८ क्लाइमेट कन्फेरेन्स' मा सहभागिता जनाउने क्रममा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ।
समितिले यही मंसिर ३ देखि ७ गतेसम्म सगरमाथा राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकन तथा अन्तर्क्रिया गरेको थियो। त्यक्रममा समितिले जलवायु परिवर्तनका असरसम्बन्धी विषयमा स्थलगत अध्ययन तथा अवलोकन समेत गरेको थियो।
ध्यानाकर्षण पत्रमा हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण सिर्जित समस्यालाई ४ वटा बुँदामा उल्लेख गरिएको छ। पर्याप्त हिउँ नै नपर्ने, परेको हिउँ तत्काल पग्लिने तथा बालीनाली समेत प्रभावित हुने अवस्था रहेको ध्यानाकर्षण पत्रमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।