काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आइतबार राति अष्ट्रेलिया जाने भएका छन्। वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल अष्ट्रेलिया जान लागेको हो।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को संसद् सहयोग परियोजना अन्तर्गत अध्ययन भ्रमण हुन लागेको संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए। यूएनडीपी नेपाल र संघीय संसद् सचिवालयबीच समझदारी भई संघीय संसद् र प्रदेश सभाहरुमा संसद् सहयोग परियोजना सञ्चालित छ।
प्रतिनिधिमण्डलमा अध्यक्ष तिमिल्सिना, सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, मधेस प्रदेश सभाका उपसभामुख बबिताकुमारी राउत ईशर, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईं खत्री र लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड केसी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।