काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताएका छन्।
पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७औँ सभा बैठकलाई आइतबार बालुवाटारमा सम्बोधन गर्दै उनले समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखापरेका बाधा–अड्चन, नीतिगत तथा कानुनी समस्याको समाधान र ऐनको समयाकूल परिमार्जन र संशोधनका लागि सरकारबाट यथोचित सहयोग रहने विश्वास व्यक्त गरे।
विश्वविद्यालयले स्थापनाको झन्डै तीन दशकमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकामा प्रधानमन्त्रीले बधाई दिए। ‘विश्वविद्यालय स्थापनाका लागि योगदान पुर्याउने र यसको प्राज्ञिक उन्नयन र विकासमा सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा उच्च शिक्षाको गुणस्तर कायम गर्दै विश्वविद्यालयको संस्थागत सुधारका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त हुने विश्वाससमेत व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भने।
विश्वविद्यालयका उपकुलपतिले प्रस्तुत गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं रजिष्ट्रारबाट प्रस्तुत बजेटले विश्वविद्यालयको समग्र शैक्षिक–भौतिक प्रगतिका साथै विकास र विस्तारमा समेत सघाउ पुग्ने प्रधानमन्त्रीको भनाइ छ।
विश्वविद्यालयले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालको भनाइ छ।
विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनका क्षेत्रमा राष्ट्रको आवश्यकता एवं अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्तिको उत्पादनका लागि ध्यानकेन्द्रित गरेको जानकारी पाउँदा खुसी लागेको उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।