काठमाडौं- ‘यो बजेट एमालेले समेत स्वामित्व लिनेछ। यो एमालेले ल्याएको जस्तै हो। यसको स्वामित्व एमालेले पनि लिन्छ र संसद्बाट पास हुन्छ,’ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शनिबार बजेट सम्बन्धी अध्यादेश संसद्मा दर्ता गरेपछि आइतबार उक्त दाबी गरे। आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमाझ मुख्यमन्त्री कार्की प्रतिस्थापन बजेट संसद्बाट सर्वसम्मत जतिकै पारित हुने दाबी दोहोर्याए।
तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले आर्थिक वर्ष २०८०/८१ का लागि असार १ गते संसद् छलेर अध्यादेशमार्फत बजेट ल्याएका थिए। तर सरकार अदल-बदलले उक्त अध्यादेश संसद्मा अनुमोदन भएर कानुन बन्न सकेन। त्यसयता अध्यादेशमार्फत नै दोस्रो पटक मुख्यमन्त्री हुँदा हिक्मत कार्कीले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएका थिए। त्यसको पनि समय गुज्रिन लागेपछि कार्कीले त्यसलाई प्रतिस्थापन गर्दै नयाँ बजेट सदनमा प्रस्तुत गरेका हुन्।
सत्तापक्षीय ‘प्रतिपक्षी’ एमालेको साथ खोज्दै मुख्यमन्त्री कार्की
सुरुमा उद्धृत गरेजस्तो सदनबाट बजेट अनुमोदन हुन एमालेको समर्थन कार्कीलाई आवश्यक हुन्छ, जसका लागि उनले एमालेले स्वामित्व लिने पनि दाबी गरेका छन्। तर कार्कीले दाबी गरेजस्तो सहज परिस्थिति भने छैन। आफ्नै पार्टी नेतृत्वको संघीय गठबन्धनको विरुद्ध गएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सो गठबन्धन टिकाउन सकेनन्।
केही समयकै अन्तरालमा एमाले सरकारबाट बाहिरियो। हाल संसद्मा एमाले प्रतिपक्षी बेञ्चमा बस्छ तर उसले समर्थन भने फिर्ता लिएको छैन।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकार भएकोले सरकारलाई दिएको समर्थन फिर्ताको सवालमा एमाले अलमलमा परेको छ। सांसद–सांसद्को समर्थनले सरकार बनेकोले पार्टीले फिर्ता लिँदैमा फिर्ता नहुने देखिएकोले एमाले अहिले समर्थन गर्दै प्रतिपक्षी बेञ्चमा बसेको छ।
एमाले बाहके पनि बहुमत आवश्यक ४७ सांसदको समर्थन हुने भए पनि त्यो भरयोग्य छैन। तर कार्की एमाले यो बजेट आफूले स्वामित्व लिइदियोस् र मुख्यमन्त्री बन्दाको समझदारीमा अडिग नै रहेको सन्देश देओस् भन्ने चाहेको एक मन्त्री बताउँछन्। ती मन्त्रीले भने जस्तो सदनमा पनि एमालेले बजेटलाइ विरोध गरेको छैन।
आइतबार छलफलमा सहभागी एमाले सांसदले केही सुझाव दिए पनि बजेटको विरोध गरेनन्। छलफलमा सहभागी हुनेमध्ये एमाले सांसद छविलाल चुँडालले आफूले दिएको सुझाव समेटे उत्कृष्ट बजेट हुने बताए। ‘बजेटमा सुधारका गर्ने केही ठाउँहरु छन्। यी सुझाव कार्यान्वयन गरेमा बजेट थप मजबुत हुन्छ,’ उनले भने।
संसद्मा एमालेको प्रस्तुति हेर्दा एमालेले बजेटलाई समर्थन गर्ने देखिन्छ। कोशी प्रदेशका एमाले सांसद एकराज कार्की आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि बजेट नहुँदा समस्या पर्ने भएकोले यस्तो अवस्थामा पक्ष विपक्ष नहुने बताउँछन्। ‘चौमासिक बितिसक्यो। कति कामहरु छन्। जनतामा निराशा छ। पक्ष विपक्ष हुने समय छैन। सबैलाई समेटे एमालेले समर्थन नगर्ने कारण नै छैन,’ उनी भन्छन्।
कस्तो छ त बजेट?
कार्कीले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाखको अनुमानित बजेट ल्याएका छन्। यो तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेटभन्दा ५० करोड बढी हो।
मुख्यमन्त्री कार्कीले एमाले नेतृत्वको सरकारको बजेटलाई आफूले धेरै नचलाएको दाबी समेत गरेका छन्।
कार्कीले ल्याएको बजेटमा इटहरीमा प्रदेश वर्न अस्पताल बनाउने, कृषि उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि बैङ्क तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जस्ता नयाँ कार्यक्रमहरु समावेश गरेका छन्।
यस्तै, धरानमा तमोरबाट सुरुङ मार्ग हुँदै पानी ल्याउन अध्ययन गर्ने, प्रदेश भित्र आवश्यक पर्ने चिकित्सा, विज्ञान तथा कानुन अध्ययन गर्ने स्नातक तहका विद्यार्थीहरूका लागि छात्रवृत्ति व्यवस्थापन गर्ने, प्रदेश भित्र दक्ष जनशक्ति उत्पादन गरी कृषि र पशु प्राविधिक अध्ययन गर्न प्रत्येक स्थानीय तहमा १ जनाको दरले छात्रवृत्ति उपलब्ध गराउने जस्ता कार्यक्रमहरु पनि कार्कीले ल्याएको बजेटमा समावेश छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।