काठमाडौं- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रान्तिमा खुसीराम पाख्रिनको सांस्कृतिक योगदान, निष्ठा, त्याग र तपस्या स्मरणयोग्य रहेको बताएका छन्। पाख्रिनको छैटौँ स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले पार्टीको नीति र नेतृत्वप्रति पाख्रिनको लगाव र निष्ठा सबैले अनुसरण गर्नुपर्ने उल्लेख गरे।
‘पाख्रिनको नेपालको प्रगतिशील साहित्यिक इतिहासमा मौलिक योगदान छ,’ उनले भने, ‘सिद्धान्तनिष्ठ, उद्देश्यप्रति समर्पित, निरन्तर क्रान्ति र आन्दोलनमा समर्पित हुने, सरलता र सहजता उहाँको गुण हो।’
पाख्रिनले कुनै खालको दम्भ, अहङ्कार र अहमता नदेखाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले सामान्य, सरल, पाख्रिनको सकारात्मक रूप रहेको बताए। ‘उहाँ गाउने, गीत लेख्ने, सङ्गीत भर्ने, नृत्य सिकाउने पनि आफैँ गर्नुहुन्थ्यो, पाख्रिनमा बहुआयामिक प्रतिभा थियो,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले पञ्चायतविरोधी आन्दोलन, जनयुद्ध र शान्ति प्रक्रियामा पाख्रिनको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै पाख्रिन प्रष्ट रूपमा एउटा प्रगतिशील र लोकप्रिय गायकका रूपमा रुपान्तरित हुँदै पार्टी र आन्दोलनसँग जोडिनुभएको बताए।
‘पाख्रिनसँग पहिलो भेटघाट र चिनजान २०३६ सालको ऐतिहासिक जनआन्दोलन वरिपरिबाट भएको हो,’ प्रधानमन्त्रीले भने, ‘त्यस समयमा उहाँ गायनकै कारण जिल्लाभरि स्थापित हुनुभयो।’
जनयुद्धका क्रममा भारतको प्रवासमा पार्टीलाई सङ्गठित गर्न पाख्रिनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै उनले अखिल भारत नेपाली एकता समाजलाई व्यापक बनाउन र सङ्गठन विस्तार गराउनमा ठूलो योगदान रहेको बताए।
विसं २००९ सालमा गोरखामा जन्मिएका पाख्रिन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिए। उनको २०७४ सालमा निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।