काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले जसरी पनि निर्वाचन जित्ने अनि सरकारमा मात्र सहभागी हुने काम नगर्ने बताएका छन्। अर्घाखाँचीमा शुक्रबार आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अबको वर्ष नेपाली कांग्रेस क्यालेन्डर बनाएर जनतामा जाने दाबी पनि गरे।
उनले पार्टी भित्र थिति बसल्नुपर्ने भएको भन्दै जिल्लादेखि सबै तहको सम्मेलन अबको आर्थिक वर्षमा तोकिएको समयमा हुने दाबी गरे। सम्मेलनले एक वर्षका कार्यक्रम पहिले नै तय गर्ने भन्दै उनले जनताको कुरा सुन्ने मञ्चको रुपमा ती कार्यक्रमहरु हुने पनि दाबी गरे।
महामन्त्री थापाले नेपाली कांग्रेस निर्वाचनमा मात्र चिन्ता गर्ने दल नभई जनताको समस्या सुन्ने दल बनाउने अभियानमा आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा लागेको पनि बताए। उनले अहिले धेरै चिन्ता निर्वाचन केन्द्रित भएको पाएको भन्दै यस्तो चिन्ताभन्दा जनतामा जान उनले आग्रह गरे।
‘सबै कार्यकर्ताहरुले म २०८४ सालको चिन्ता लिएको देख्छु, ’ थापाले भने ‘२०८४ को चिन्ता जायज हो तर चुनाव लड्ने पार्टीले यसको मात्र चिन्ता लिनुपर्छ, हामी चुनाव मात्र लड्ने पार्टी हैनौं। ’
उनले नेपाली कांग्रेसलाई आगो र पानीसँग तुलना गरे। पानीको धर्म माटोसँग हाले मिल्ने र घाँटीमा हाले भिज्नु भएको दाबी गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले पनि यस्तै आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताए। थापाले आगोको धर्म बल्नु भएको र उसले बल्नै छोडेमा के होला भन्दै पार्टीको सबै ध्यान निर्वाचन मात्र हुन नहुने भन्दै आफ्नो धर्ममा पनि केन्द्रित हुन आग्रह गरे।
‘निर्वाचन नै लड्नुपर्ने भए एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको समयमा पनि जान सकिन्थ्यो नि, तर हामी गएनौं?,’ उनले प्रश्न गरे, ‘कम्युनिष्ट भित्रै विवादै विवाद हुँदा सजिलै दुई तिहाइ ल्याउने अवस्थामा पनि नजानुको कारण के थियो?’
त्यस्तै पूर्व राजा ज्ञानेन्द्रले पनि निर्वाचन गरेका थिए र उक्त निर्वाचन नेपाली कांग्रेसले बहिस्कार गरेको भन्दै सबै निर्वाचनमा भाग लिन जरुरी नहुने पनि उनले दाबी गरे। उनले पार्टी भनेको निर्वाचन र सरकार मात्र नभएको भन्दै विगतका पञ्चायत र राणाहरुको शासनमा गरेको समयमा आन्दोलन र क्रान्ति गरेको आएको पार्टी नेपाली कांग्रेस भएकाले बलियो रहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।