काठमाडौं– आजदेखि काठमाडौंको तीनकुनेमा प्रदर्शन केन्द्रित गरेका दुर्गा प्रसाईंलाई काठमाडौं प्रशासनले उक्त क्षेत्रमा प्रदर्शनको अनुमति नदिएको बताएको छ।
बिहीबार साँझ प्रसाईंले पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि हरेक दिन तीन कुनेमा भेला भएर श्रीलंकामा जस्तै सिंहदरबार र राजनीतिक दलका नेता लक्षित आन्दोलन गर्ने घोषणा गरेका थिए।
त्यसपछि काठमाडौं प्रशासनले सूचना जारी गर्दै प्रशासनसँग समन्वयबिना नै अराजकता फैलाउने गरी आफैं आन्दोलन र स्थान तोकिएको भन्दै उक्त स्थानमा प्रदर्शन तथा कार्यक्रमका लागि अनुमति नदिइएको बताएको हो।
काठमाडौं प्रशासनका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पुयाउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।
‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने व्यहोरा अवगत गराइन्छ’, प्रशासनले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।