काठमाडौं– जिल्ला प्रहरी कार्यालय कास्कीले कौडाको खालबाट ६ जनालाई पक्राउ गरेको छ। आइतबार पोखरा महानगरपालिका–२२ खाल्सेका भेषबहादुर गुरुङको घरबाट उनीसहित ६ जनालाई प्रहरीले कौडा खेल्दै गर्दा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भेषबहादुर गुरुङसहित पोखरा–१० अम्मरसिंहचोकका बलराम श्रेष्ठ, पोखरा–९ पृथ्वीचोककासुरेन्द्र शाह, पोखरा–१५ रामबजारका दिपेन्द्र सेन, पोखरा–२६ विजयपुरका खम्बसिंह राना र पोखरा–२६ बुढिबजारका डोरबहादुर गुरुङ रहेका छन्।
उनीहरुको साथबाट ८२ हजार ९९० रुपैयाँ बरामद भएको छ। जुवा खेलाउन जमिनमा खाडल खनेर लाइनको तारसमेत जडान गरेको गोलाकार सेन्सर मेसिनसमेत फेला परेको छ। रिमोट जडान गरेर जुवा खेलिरहेको अवस्थामा उनीहरु फेला परेका थिए।
नियन्त्रणमा लिएकाविरुद्ध सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) मुद्वामा अनुसन्धान थालिएको डिएसपी विकले बताए। जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको छ।
उक्त घरबाट कौडा र रकम मात्र होइन हर्नेट १ नाल हतियारसमेत फेला पारेको छ। भेषबहादुरको घर खानतलासी गर्दा हर्नेट १ नालसहित त्यसमा लाग्ने २४ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। सोही हतियारमा लाग्ने १ थान म्याग्जिन पनि बरामद गरिएको छ।
जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्वा लागेका भेषबहादुरलाई हातहतियार तथा खरखजना सम्बन्धि कसुरसमेत लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।