काठमाडौं– कञ्चनपुरमा एक महिलाको हत्या गरी गरगहना लुटिएको छ। शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी सुनका गरगहना लुटपाट गरिएको प्रहरीले जनाएको छ।
लुटिएका गहना किनबेचमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका–७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय निरज भट्ट, धनगढी उपमहानगरपालिका–१ बस्ने २८ वर्षीय ईन्द्र बराल सुनार, ४३ वर्षीय खगेन्द्र बहादुर सोव र सोही उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय दिपेन्द्र सिजापती रहेका छन्।
उनीहरूमध्ये महेश डगौराले हत्या गरी सुनका गहना लुटेको, लक्ष्मण चौधरी र निरज भट्टले सुनका गहना बिक्री गर्ने तथा न्यू बर्दादेवी सुनचाँदी पसलका संचालक ईन्द्र बराल सुनार, न्यू दिया सुनचाँदी पसलका संचालक खगेन्द्र बहादुर सोव र सुजल सुनचाँदी पसलका संचालक दिपेन्द्र सिजापतीले उक्त सुनका गहना खरिद गरेको खुल्न आएको छ।
नारुदेवी जोशी कात्तिक १९ गते दिउँसो घाँस काट्न भनि आफ्नो घर नजिक मध्यवर्ती सामुदायिक वनतर्फ गएकोमा फर्केर नआएपछि खोजी गर्ने क्रममा कात्तिक २० गते वनमा शव फेला परेको थियो। घटनाको अनुसन्धानको क्रममा प्रहरीले मंसिर १ गते महेश डगौरालाई झलारी बजारबाट पक्राउ गरेको थियो।
महेशले मध्यवर्ती सामुदायिक वनको गेटबाट भित्रतर्फ गइरहेको अवस्थामा नारूदेवीसँग घाँस काटिदिन्छु भनि हँसिया मागी सो हँसिया केही टाढा फाली उनकै चुन्नी जस्तो कपडाले घाँटि कसी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्यापछि उनले नारुदेवीको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुली लुटेको अनुसन्धानको क्रममा खुल्न आएको छ। साथै लुटिएका सुनका गहना प्रहरीले ३ वटै पसलबाट बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।