काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनमा दोस्रो दिन पनि बहस जारी रहेको छ। न्यायाधीशद्वय जनकप्रसाद पाण्डे र प्रकाश खरेलको इजलासमा मंगलबारदेखि सुरु भएको बहस हेर्दा हेर्दैमा रहेको छ।
उच्च अदालतमा जिल्ला अदालत काठमाडौको पूर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहितले दर्ता गरेको पुनरावेदन निवेदनमा अन्तिम सुनुवाइ चलिरहेको छ।
मंगलबार वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा बहस सुरु भएको थियो। उक्त बहस वुधबार पनि निरन्तर रह्यो। उच्च अदालतका अनुसार हालसम्म १० जना कानुन व्यवसायीले बहस गरेका छन्। निवेदकका तर्फबाट करिब ५० जनाले नाम वकालतनामा बुझाएका छन्। उनीहरुमध्ये आधाले मात्र बहस गर्ने देखिन्छ। वरिष्ठ अधिवक्ता एवं फौजदारी कानुनका विज्ञहरुले बहस गर्दा उक्त मुद्दा यो सातासम्म लाग्ने देखिन्छ।
२२ जनाको निवेदन रहेको र तीमध्ये अधिकांशले एकभन्दा धेरै कानुन व्यवसायी राखेका कारण यो मुद्दा लम्बिने देखिन्छ। बिहीबार र शुक्रबार निवेदकका कानुन व्यवसायीले बहस सकेमा अर्को आइतबार सरकारी पक्षले बहस गर्ने तयारी गरेका छन्। उच्च सरकारी वकिल कार्यालय पाटनका प्रमुख शंकर खत्रीको नेतृत्वमा पाँच जनाले बहस गर्ने तयारी गरेका छन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा संलग्न भएको भन्दै पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, बहालवाला सचिवसहित उच्च पदस्थ व्यक्तिविरुद्ध जिल्ला अदालतमा संगठित अपराधसहित पाँच अभियोगमा मुद्दा दायर भएको थियो।
यो मुद्दामा अहिले थुनामा रहनेहरूमा पूर्वमन्त्रीद्वय खाँण र रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, बिचौलियाहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, आशिष बुढाथोकी, सागर राई, टंककुमार गुरुङ र केशव तुलाधर रहेका छन्।
जिल्ला अदालतले दिएको आदेशविरुद्ध त्यसलाई बदर गरेर आफूहरूलाई तारिखमा छाडी मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने मागदाबी गर्दै उनीहरू साउन १२ गते उच्च अदालतमा निवेदन दिएका थिए। उक्त प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा भने फरार रहेका छन्।
दुई दिनको बहसका क्रममा अधिकांश वकिलहरुले जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी धरौटी वा साधारण तारेखमा रिहा गर्नुपर्ने माग दाबी पेस गरेका छन्। उनीहरुले नक्कली भुटानी शरणार्थी बनाएको भनी रकम उठाएको र अमेरिका पठाउन लागेको भनी दाबी गरिए पनि त्यसको प्रमाण पेस गर्न अभियोगपत्रमा नसकेको तर जिल्लाले प्रमाणहरु नहेरी थुनामा पठाएको दाबी गरेका थिए।
उनीहरुले पूर्वमन्त्री, बहालवाला सचिवलगायतका व्यक्तिहरुलाई आरोप लगाएको कुरा प्रमाणले पुष्टि गर्नुपर्ने नत्र थुनामा राख्न नहुने तर्क गरेका छन्। वकिलहरुले उनीहरु भागेर जाने वा प्रमाण नष्ट नगर्ने भएकाले फैसला नभएसम्म थुना बाहिरै रहेर पनि मुद्दा लड्न दिनुपर्ने माग गरे। अदालतले सबैको बहस सुनेपछि निर्णय दिने छ। उच्च अदालतले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गर्ने वा त्यसलाई बदर गर्दै धरौटी वा साधारण तारेखमा रिहा गर्ने मध्ये एउटा निर्णय सुनाउने छ।
जिल्लाले उनीहरुलाई असार १ गते थुनामा पठाएको थियो। त्यसविरुद्ध उनीहरु उच्च अदालत पाटन पुगेका थिए। पाटनमा लामो समय निवेदन विचाराधीन रहेको थियो। उच्चले फैसला सुनाएपछि चित्त नबुझ्ने पक्ष सर्वोच्चसम्म जान पाउने छ। यदि उच्चले जिल्लाकै सदर गरेमा उनीहरु सर्वोच्चसम्म जान सक्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।