काठमाडौं- कांग्रेस महामन्त्री गगन थापाले पीडामा रहेका मानिसलाई संगठित गरेर दुरुपयोग गर्ने शक्ति देखा परेको टिप्पणी गरेका छन्। पछिल्ला दिनहरुको राजनीतिक गतिविधिलाई लक्षित गर्दै महामन्त्री थापाले उक्त टिप्पणी गरेका हुन्।
नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री उनले उक्त टिप्पणी गरेका हुन्। ‘मानिसहरुको पीडा जसको बारेमा हामीले चिन्ता गर्नुपर्ने नै छ। त्यसको कति दोषी हामी पनि छौँ, चर्चा गरौँला। तर यसलाई संगठित गरेर यसलाई दुरुपयोग गर्ने शक्ति हामी देख्दैछौँ,’ उनले भने।
त्यसअघि थापाले जनता पीडामा रहेको सत्य रहे पनि व्यवस्था नै गलत भन्ने तर्क गर्नेहरुसँग सचेत हुन पनि अपिल गरेका छन्।
‘नेपाली कांग्रेसका प्रत्येका साथीले एउटा कुरा ख्याल गर्नुपर्नेछ। मानिसहरु रिसाएका छन्। असन्तुष्टि छन्। त्यसका जायज मागहरु छन्। त्यसको चिन्ता गर्नुपर्ने छ। चिन्तन गर्नुपर्नेछ। तर केही समूह, व्यक्ति, पात्रहरुसँग हामी सचेत हुनु पर्नेछ। सर्तक हुनु पर्नेछ कि असन्तुष्टिलाई संगठित गरेर त्यसबाट यो व्यवस्था, हाम्रो विचार, जसका लागि हामीले संघर्ष गर्यो यसलाई गलत हो भनेर लागेका छन्,’ उनले भने।
यस्तै, महामन्त्री थापाले त्यस्तो समूहले आम मानिसलाई प्रतिनिधित्व नगर्ने पनि उल्लेख गरेका छन्।
‘उनिहरु आम मानिस होइनन्। उनिहरु पिडामा परेका मान्छे होइनन्। पिडामा परेका मान्छे त तपाइ हामीसँगै छन्। यत्रतत्र छन्। ती हामी जस्तै हुन्,’ उनि भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।