काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने बताएका छन्।
मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण बनाएकाले सत्तारुढ गठबन्धनले सरकार छोडनुपर्ने ओलीको दाबी थियो। बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सरकारले प्रतिगामी शक्तिहरुलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको उल्लेख गर्दै आफ्नो पार्टीलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिए।
उनले भने, ‘अहिलेको सरकारको यो निकम्मापन, जसले प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण सृजना गर्ने र प्रतिगामी शक्तिहरुलाई हौसला प्रदान गर्ने काम गरेको छ। त्यो नालायकी स्विकार्य हुन सक्दैन। कि उपयुक्त ढंगले सरकार चलाउनुपर्छ। होइन भने सरकार छोड्नुपर्छ।’
ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबीसमेत गरे। देश अप्ठ्यारो परिस्थितिमा रहेकाले प्रतिगामी तत्वहरु सल्बलाएको भन्दै देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने दाबी गरे।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधिनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको बताए। उनले पछिल्लो यो अढाई वर्षको बीचमा मुलुकको राष्ट्रिय हित, गौरव र सम्मान धेरै कमजोर हुन पुगेको पनि दोहोर्याए। वर्तमान सरकारले मुलुकको असंलग्नता र तटस्थतासम्बन्धी परराष्ट्र नीति पनि धरापमा पारेको ओलीको आरोप छ।
उनले भने, ‘अहिले हाम्रो असंलग्नता धरापमा परेको छ। हाम्रो तटस्थता धरापमा परेको छ। अहिले स्वाधिनता अपहेलित, अपमानित, तिरस्कृत भएको जस्तो छ। यो अवस्था राष्ट्रका लागि शोभनीय र सम्मानजनक होइन। यो परिस्थिति यो अढाई वर्षको बीचमा यो परिस्थिति निर्माण भएको छ। र, यी अढाई वर्षहरुमा देश राष्ट्रिय सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितहरु र राष्ट्रिय गौरव र सम्मानका हिसावले लामो समययता यस्तो कमजोर भएको थिएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।