काठमाडौं- राष्ट्रिय सभाको अब रिक्त हुने पदहरूका लागि हुन लागेको निर्वाचनमा नयाँ मतभार तोकिएको छ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार अब हुने निर्वाचनमा नयाँ मतभार अनुसार मतगणना हुनेछ।
निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाले स्थानीय जनप्रतिनिधिहरूको मतभार १९ र प्रदेश सभा सदस्यको मतभार ५३ हुनेछ। यसअघि क्रमशः १८ र ४८ थियो।
जनसंख्याको पछिल्लो विवरण अनुसार मतभार तय हुने व्यवस्था छ। जस्तै, प्रदेश सभाका सदस्यको मतभारका लागि ( कुल जनसङ्ख्या (पछिल्लो राष्ट्रिय जनगणना अनुसार) ÷ प्रदेश सभा सदस्यको कुल सङ्ख्या) ÷ १००० सूत्र प्रयोग गरिन्छ। सोही अनुसार २०६८ को जनसंख्याका आधारमा प्रदेश सभा सदस्यको मतभार ४८ कायम भएको थियो।
२०७८ को जनगणनाको नतिजा आएपछि आयोगले सोही अनुसार मतभार कायम गरेको हो।
२०७४ को निर्वाचनपछि भएको गोलाप्रथामार्फत् आफ्नो कार्यकाल ६ वर्ष कायम गराएका एक तिहाइ सदस्यको अवधि यही वर्ष फागुन २१ मा सकिँदैछ। यसपटक राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको पदावधि सकिँदैछ। त्यसअघि नै निर्वाचन गरेर ती पदको पूर्ति हुँदैछ।
निर्वाचनका लागि माघ ११ को मिति आफूहरूले प्रस्ताव गरेको थपलियाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।