काठमाडौं- महिलाहरुलाई बास बसेको स्थानबाट जबरजस्ती हटाउने कार्यको सर्वत्र आलोचना भएपछि नेकपा एमाले निकट युवा संघले बचाउमा विज्ञप्ति जारी गरेको छ।
राष्ट्रिय युवा संघले मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यक्रम बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको दाबी गरेको छ।
युवा संघको नाम लिँदै दुर्गा प्रसाईंको अभियानमा सहभागी हुन आएका महिलालाई राति भक्तपुरको एक गेष्ट हाउसबाट विस्थापन गरिएको थियो। सुतेकै ठाउँबाट बाहिर निकालेको भिडिओ सार्वजनिक भएर समग्र एमालेकै आलोचना भएपछि संगठनले आफ्नो भनाइ सार्वजनिक गरेको हो।
अध्यक्ष क्षितिज थेबेले युवा संघलाई जोडेर सामाजिक सञ्जालमा भिडिओ तथा अडिओ सामग्री फैलाइएको भन्दै विज्ञप्ति जारी गरेका छन्।
‘मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘घुसपैठबारे हामीले आन्तरिक रूपमा छानबिन गरिरहेको बेहोरा जानकारी गराउँछौँ। यस्ता खालका कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ।’
राष्ट्रिय युवा संघ नेपाल संविधान र विधिको शासनलाई पूर्णतः स्वीकार गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतान्त्रिक मूल्य, मान्यता र आचरणसहित आफ्ना गतिविधि सञ्चालन गरिरहेको उनले उल्लेख गरेका छन्।
‘नेपाली जनताको लामो बलिदानी त्याग र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने तथा सुशासन, समृद्ध र समानताको पक्षका आवाजहरुलाई संगठनले बुलन्द गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यही सन्दर्भमा संगठनलाई बदनाम गर्न संगठनको नाम जोडेर सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।