काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंलाई 'एमाले सिसाको घर' नभएको भन्दै चेतावनी दिएका छन्। मंगलबार पर्साको पोखरियामा आयोजित आमसभामा सम्बोधन गर्दै उनले एमाले घनले हान्दा पनि नबांगिने स्पात भएको दाबी गरे।
'७ गते हाम्रा युवाहरूले काठमाडौंमा यसो सानोतिनो, २०/२५ हजारको प्रदर्शन गर्छौँ भने। अरु तत्वहरूले बडो फुर्ती लगाएर युवासंघलाई त यसै पेल्न सकिएला भनेर देशभरबाट गाडी, बस रिजर्भ गरिगरिकन काठमाडौंमा मान्छे थुपार्दै रहेछन्', ओलीले भने, 'तर हामीलाई थाहा छ- नेकपा एमाले सिसाको ग्लास होइन, प्याल्ट्याक्क लड्यो कि, केहीमा ट्याक्क ठोकियो कि फुटिहाल्ने। नेकपा एमाले यस्तो स्पात हो। घनले हान्दा पनि बांगिँदैन।'
उनले यस क्रममा प्रसाईंको नाम त लिएनन् तर उनलाई संकेत गर्दै शिखण्डी भन्दै कटाक्ष गरे। भने, 'अहिले केही नयाँ तत्वहरू, कोही शिखण्ड अगाडि सारेर, विभिन्न तत्वहरू त्यो शिखण्डीको पछाडि लागेर नेकपा एमालेको फलानो व्यक्तिसँगको लडाइँ भनेर, त्यस्तो व्यक्ति हामी गन्दा पनि गन्दैनौँ, देख्दा पनि देख्दैनौँ, सुन्दा पनि सुन्दैनौँ। हामी त यो गठबन्धन, यसको निष्क्रियता, अकर्मण्यता, बुद्धिहिनता, क्षमताहिनता, यो अढाइ वर्षमा देश जति तल खसाइयो, रसातलमा पुर्याइयो, त्यसको विरोधमा अगाडि बढ्नु छ।'
मंसिर ७ गते नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंमा प्रदर्शन आयोजना गरिएको छ। त्यसलाई लिएर दुवै पक्षबीच पछिल्ला दिनमा आरोप र कटाक्ष चलिरहेको छ।
ओलीले एमाले राणाशासनसँग लडेको, निरंकुशतासँग लडेको, पञ्चायतसँग लडेको र राजतन्त्र फालेको बताए। ओलीले शाही सेना बोकेको र जनताले भगवान् भनेर अन्धविश्वासमा पुजेको सामन्ती, शोषक संस्था राजतन्त्रलाई त्यसको बैंसमै जनताले पछारेर सिध्याइदिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।