काठमाडौं– न्याय परिषद्ले अन्तत: लामो समयपछि सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा ६ जनाको नााम सिफारिस गरेको छ। सोमबारदेखि निरन्तर बसेको परिषदको बैठकले विवादकैबीचका नाम टुंग्याएको हो।
प्रधानन्यायाधीश विश्वभर श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले राजनीतिक भागबण्डा मिलाउँदै न्यायाधीश सिफारिस गरेको हो। सिफारिस पर्नेमा नेपाली कांग्रेसको कोटा र एमाले कोटाबाट दुई जना कानुन व्यवसायी अटाएका छन्।
वरिष्ठ अधिवक्ताहरु सुनिल पोखरेल नेपाली कांग्रेस निकट हुन् भने बालकृष्ण ढकाल एमाले निकट हुन्। पोखरेल नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनका तर्फबाट नेपाल बारको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। ढकाल एमाले निकट प्रगतीशिल कानुन व्यवसायीको सदस्य हुन्। दुवै जना गत वर्ष वरिष्ठ अधिवक्ता भएका थिए।
पोखरेल अब्बल कानुन व्यवसायीको रुपमा चर्चित छन्। संवैधानिक कानुन र फौजदारी कानुन दुवैमा दख्खल राख्ने पोखरेल व्यवसाय राम्रै चलेका कानुन व्यवसायी हुन्। परिषद्ले भागबण्डा गर्दा माओवादीको कोटा भने रिक्त हुन पुगेको छ।
माओवादीका तर्फबाट महान्यायाधीवक्ता दिनमणि पोखरेल, डिएन पराजुलीसहित अन्यको नाम चर्चामा थियो। तर छलफलका क्रममा सहमति हुन नसकेपछि अर्को बैठकमा टुंग्याउने गरी ६ जनाको सिफारिस गरिएको हो।
उच्चमा पनि रोलक्रम भत्कियो
उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दा रोलक्रम भत्काइएको छ। रोलक्रममा माथि रहेका र एकमात्र मुख्य न्यायाधीश नृपध्वज निरौला छुटेका छन्। उनीपछि रोलक्रममा अगाडि रहेका सत्यमोहन जोशी पनि छुटेका छन्। रोलक्रममा तलै रहेका महेश शर्मा पौडेल अटाएका छन्।
उनी उच्च अदालत पाटनमा कामु मुख्य न्यायाधीश थिए। त्यस्तै समावेशी कोटामा सारंगा सुवेदी र अब्दुल अजिज मुसलमान अटाएका छन्। त्यस्तै कानुन मन्त्रालयबाट उच्च अदालतको न्यायाधीश भएका टेकप्रसाद ढुंगाना पनि अटाएका छन्। उनी पनि रोलक्रमा तलै रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।