काठमाडौं– नेकपा एमालेको युवा संघले मंसिर सात गतेका लागि माइतीघर मण्डलामा तय गरेको कार्यक्रमको स्थान परिवर्तन गरेको छ।
जिल्ला प्रशासन काठमाडौंले सोमबारदेखि एक महिनाका लागि माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा भेला तथा सभा र प्रदर्शन गर्न निषेध गरेपछि युवासंघले कार्यक्रमस्थल परिवर्तन गरेको हो।
राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले सोमबार साँझ विज्ञप्ति जारी गर्दै कार्यक्रमको मिति पूर्वनिर्धारित अनुसार यथावत नै रहेको तर कार्यक्रमस्थल भने माइतीघर मण्डलाको साटो तीन कुनेमा सारिएको जानकारी दिएका छन्।
मंसिर सात गते यसअघि नै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सभा आयोजनाको घोषणा गरेका थिए। एमालेविरुद्ध खनिँदै आएका प्रसाईंले माइतीघर मण्डलामा सभा राख्ने भएपछि त्यसको प्रतिरोधका लागि एमाले नेता महेश बस्नेतको अगुवाइमा ७ गते नै माइतीघर भण्डलामा युवा विद्यार्थी विशेष कार्यक्रम राखेको थियो।
तर सोमबार दुई समूहबीच शक्ति प्रदर्शन हुने र त्यसका क्रममा झडपदेखि गम्भिर सुरक्षा चुनौतीका घटना निम्तिने देखपछि प्रशासनले दुवै पक्षलाई कार्यक्रम स्थल सार्न सुझाएको थियो।
दुवै पक्षको सहभागितामा भएको छलफलपछि काठमाडौं जिल्ला प्रशासनले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्दै त्यस क्षेत्रमा कुनै पनि प्रकारमा भेला, सभा तथा प्रदर्शनका लागि रोक लगाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।