काठमाडौं– गृहमन्त्रालय मातहतका निकायहरुमा प्रभावकारी कामकारबाही गर्न भन्दै पूर्वमुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा समिति बनाइएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमा आयोजित एक कार्यक्रमकाबीच सोमबार समिति गठन गरिएको जानकारी दिए।
पौडेल नेतृत्वको समितिले कामकारबाहीमा ल्याउनुपर्ने सुधारबारे अध्ययन गरेर रिपोर्ट पेस गर्ने बताइएको छ। यो समितिले गत कात्तिक १४ गतेदेखि नै काम सुरु गरेको मन्त्री श्रेष्ठले बताएका छन्।
समितिको लागि ३ महिनाको समय तोकिएको छ। समितिमा संयोजक पौडेलसँगै सदस्यका रुपमा पूर्वसचिव शरदचन्द्र पौड्याल, पूर्वसचिव शंकरप्रसाद कोइराला, पूर्वसचिव लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री विन्दु पोखरेल र सूचना प्रविधि विज्ञ भनेर विजय गौतमलाई राखिएको छ।
यो समितिले विशेषगरी ७ वटा निकायको काममा ल्याउनुपर्ने सुधारबारे योजना बनाएर पेश गर्ने बताइएको छ। जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन विभाग, कारागार व्यवस्थापन, स्थानीय प्रशासन तथा त्यसका सेवा प्रभाव, विपद् व्यवस्थापन र राष्ट्रिय परिचयपत्रको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउन सकिन्छे भन्नेबारे अध्ययन गरेर रिपोर्ट पेश गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।