काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। छठको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्नुका साथै आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले भूगोल र क्षेत्रफलको हिसाबले नेपाल सानो भए तापनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूषा र सभ्यताका दृष्टिले विश्वमै विशाल र वैभवशाली भएको बताएका छन्।
‘यो यथार्थ हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले प्रमाणित गर्छन्, नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको छ,’ प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।
यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्रीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।