काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई कांग्रेसको राष्ट्रपति भएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा एमाले जनसंगठनको विशेष बैठकलाई सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेल कांग्रेसकै भएर जाजरकोट पुगेको आरोप लगाए।
‘जाजरकोटमा भूकम्प गयो। राष्ट्रपति जानुभयो। किन जानुभएको? कति मान्छे मरे भन्ने उहाँले सुन्नु नै भएको थियो। टेलिभिजन हेर्नुभएकै थियो। कति घर भत्किए भनेर सुन्नु नै भएको थियो। कति के भयो भन्ने सुन्नु नै भएको थियो’, ओलीको निष्कर्ष थियो, ‘उहाँ राष्ट्रपति भएर जानुभएको होइन। कांग्रेस छुट्यो भनेर जानुभएको हो।’
ओलीले राष्ट्रपति पौडेलले केही समयअघि तनहुँमा गरेको एउटा भाषणलाई जोड्दै उनी कांग्रेसको भएको साबित गर्ने प्रयत्न गरे। ‘म यो किन भन्दैछु भने, राष्ट्रपतिले तनहुँमा गएर 'घण्टीको यत्रो बिगबिगी भएका बेलामा कांग्रेसलाई भोट दियौ, मतदातालाई धन्यवाद दिन्छु' भनेर भाषण गर्नुभयो। कांग्रेसलाई भोट दिएकोमा, रुखमा भोट हालेकोमा धन्यवाद भन्नुभयो। कति निष्पक्ष राष्ट्रपति होला?’
राष्ट्रपति पौडेलको निष्पक्षताको सम्बन्धमा धेरै कुराहरू आइसकेको ओलीको भनाइ छ। ‘एक वर्ष पुग्नुभन्दा अगाडि नै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरू देखाइसक्नुभयो- अलोकतान्त्रिकता, पक्षपातपूर्ण। उहाँलाई संविधानको मतलब छैन’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।