काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घरदैलो अभियान’ शनिबारदेखि सुरु भएको छ। संघीय चुनावको एक वर्ष र उप–निर्वाचनको ६ महिना पुगेको अवसरमा सो पार्टीले अभियान सुरु गरेको हो।
पार्टीलाई एक उदयमान राजनीतिक शक्तिका रुपमा स्थापित गराउन साथ दिने आममतदाताप्रति आभार व्यक्त गर्न रास्वपाले अभियान आयोजना गरेको हो। अभियान मंसिर २, ३ र ४ गते चल्नेछ।
चुनावका बेला मात्र होइन, निरन्तर घरदैलोमा पुगेर नेता गणले जनताका सल्लाह–सुझाव लिनुपर्छ भनेर अभियान राखिएको रास्वपाले जनाएको छ। अभियान अन्तर्गत रास्वपाका नेता गण सुझाव फारम लिएर मतदाताबीच पुग्नेछन्।
त्यसक्रममा रास्वपाबाट निर्वाचित सांसदहरूले सुझाव फारमसँगै आफ्नो रिपोर्ट कार्ड पनि लिएर जानेछन्। आफ्नो घर–आँगनमा आउनुहुने सांसद र नेता गण समक्ष मनमा लागेका कुरा निर्धक्क राख्नुहुन आम नागरिकलाई सो पार्टीले आग्रह गरेको छ।
यसैबीच रास्वपाका सांसदहरूले सामाजिक सञ्जालबाट पनि आ-आफ्नो रिपोर्ट कार्ड सार्वजनिक गरिरहेका छन्। त्यहाँ उनीहरूले सदनमा उपस्थिति, सदनमा उठाइएका विषय, भूगोलमा उपस्थिति/क्रियाशीलता, तलब तथा सुविधा जस्ता विषय सार्वजनिक गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।