काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा मनाउन संकिर्णता गर्नु नहुने बताएका छन्। मंगलबार काठमाडौंमा नेपाल संवत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको काम साह्रानिय रहेको प्रधानमन्त्रीले उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डलदे नेपाल संवत् राष्ट्रिय संवत् भएकाले सबै मिलेर मनाउनुपर्ने बताए।
उनले नेपाल संवत्लाई राष्ट्रिय संवत् भनेर मात्रै नपुग्ने भन्दै सबै सरकारी दस्ताबेजहरुमा उल्लेख गर्न अनिवार्य गरिएको बताए।
प्रधानमन्त्रीले भने, ‘नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको कामलाई उच्च सम्मान गर्दछु। आम नेपाली जनतालाई जुनसुकै समुदायको भए पनि नेपाल संवत् हामी सबैको साझा संवत् हो। राष्ट्रिय संवत् हो। त्यसकारण यसलाई मनाउने कुरामा कुनै खालको संकिर्णता हामी कसैले देखाउनु हुँदैन। तपाईंहरुले निरन्तर उठाएको आवाजका आधारमा नेपाल संवत् राष्ट्रिय संवत्को रुपमा घोषणा गरेँ। नेपाल संवत्लाई राष्ट्रिय संवत् भनेर मात्रै पुग्दैन, कार्यान्वयन गर्नुपर्छ भनेर निर्णय गरेको छु। नेपाल संवत्लाई सबै सरकारी दस्ताबेजहरुमा उल्लेख गर्न अनिवार्य गर्न गरिएको निर्णय हो।’
प्रधानमन्त्री दाहालले देशको मौलिकता र संस्कृतिलाई अघि बढाउँदै लैजानुपर्ने बताए।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कागजात तथा दस्ताबेजहरुमा विक्रम संवत्सँगै नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।