काठमाडौं–सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि यसको सर्वत्र आलोचना भइरहेको छ। नियमन गर्न नसकेर सरकारले बन्द नै गर्ने निर्णय गरेको टिप्पणी भइरहेका छन्।
यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको उक्त निर्णयको आलोचना गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने? कि जोखिमरहित उपचार खोज्ने?’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन्।
उनले द्वेष फैलाउनेलाई पहिचान गर्नुपर्ने, नियम बनाएर बन्ध गर्नु पर्ने भए पनि सरकारले त्यसो गर्न नसक्दा बन्द नै गरेको टिप्पणी गरेका छन्।
‘एउटाले बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ। यो निर्णय अविल्ब फिर्ता होस्,’ उनले भनेका छन्।
साथै उनले सामाजिक-धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको सुशासनले गर्ने भएको स्मरण पनि गराएका छन्।
उनले भनेका छन्, ‘सामाजिक संजाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौं, तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौं!’
उनले प्रश्न मुहान बन्द गरेर सही जवाफ खोज्न नसकिने बताएका छन्। महामन्त्री शर्माले अघि भनेका छन्, ‘प्रश्नको मुहान बन्द गरेर सहि जवाफ खोज्न सकिन्न सरकार! टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता गर!’
टिकटक मनोरञ्जनको साझा स्टेज बनेको र कलाकार जन्माउनुका साथै कतिपयले लाइभ बसेरै कमाएको तथा व्यवसायसमेत प्रवर्द्धन गराएको शर्माले बताएका छन्।
दूरुपयोग ज–जसले गरे उनीहरुलाई निरुत्साहित र नियन्त्रणको लागि कडा विधि बनाउनुपर्नेमा बन्द गर्ने निर्णय अनुचित भएको भन्दै शर्माले निर्णय तत्लका फिर्ता लिन चेतावनीसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।