काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्ट–फर्म भिडियो’ होस्टिङ सञ्जाल ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको थापाको भनाइ छ।
‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ, तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै थापाले भनेका छन्।
टिकटक बन्द गर्ने सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखिएको थापाको भनाइ छ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्– टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ।
सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटकबाट सामाजिक तथा पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार भइरहेको भन्दै बन्द गर्ने निर्णय भएको बताइन्।
‘सामाजिक सञ्जाल टिकटकबाट सामाजिक सद्भाव विथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल्याउने गरी लगातार प्रचारप्रसार भइरहेका छन्। यस सन्दर्भमा अहिले तत्काललाई टिकटक बन्द गर्ने भन्ने निर्णय गरिएको छ,’ सरकारकी प्रवक्ता शर्माले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।