मन्त्रिपरिषद् बैठक (फाइल तस्बिर) काठमाडौं– ‘सांसद विकास कोष’को नामले परिचित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्ट्याइएको रकम जाजरकोट भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गरिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि सो कोषमा छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ हाललाई भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको हो।
त्यसका लागि सो रकमलाई विपद् व्यवस्थापन कोषमा सार्ने र थप १ अर्ब ७५ करोडसमेत सो कोषमा थप गरी जम्मा १० अर्ब विपद् व्यवस्थापन लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय पनि बैठकले गरेको छ।
भूकम्प प्रभावित क्षेत्रबाट फर्किएका कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार भेटेर यस्तै खालको सुझाव दिएका थिए।
उनीहरुले बुझाएको ध्यानाकर्षणपत्रको बुँदा ७ मा दाताहरुको सहयोग प्रतीक्षा र परिचालनसँगै सांसद विकास कोषका रुपमा छुट्याइएको रकम पुनर्निर्माणमा लगाउनुपर्ने उल्लेख छ।
सो बुँदामा भनिएको छ, ‘राहतदेखि अस्थायी आवास हुँदै पुनर्निर्माणसम्म पुग्दा अर्बौं रुपैयाँ खर्च हुने देखिन्छ। दाताहरूको सहयोग प्रतीक्षा र परिचालनसँगै ‘सांसद विकास कोष’ का रूपमा परिचित कार्यक्रमका लागि गत बजेटमा सरकारले छुट्याएको ८ अर्ब बढिको रकम सम्मानित सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाएका कारण जो ‘फ्रीज जस्तै’ अवस्थामा छ, सो रकमको सर्वोत्तम उपयोग सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा लगाउन जोडदार माग गर्दछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।