काठमाडौं– विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा अब नेपाल संवत् समेत उल्लेख गरिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत् ११४४ देखि सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकले कात्तिक २८ देखि सुरु हुने नेपाल संवत्को उपलक्ष्यमा शुभकामना पनि व्यक्त गरेको छ।
शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्लाई नेपाल सरकारको दस्तावेजमा लेख्ने गरी निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
पद्मरत्न तुलाधर पाँचौ स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रम शनिबार सम्बोधन गर्दै उनले सो जिम्मा आफ्नै भागमा परेको बताएका थिए।
‘अस्ति मकहाँ आउनुभएका प्रतिनिधिहरूसँग एउटा ‘कमिटमेन्ट’ गरेको थिएँ। अब नेपाल संवत्लाई राष्ट्रिय संवत् भनेर मात्रै भएन। त्यसलाई व्यवहारमा कार्यान्वयन पनि गर्नुपर्यो। सायद मेरै भागमा परेको छ। अब त्यो राष्ट्रिय संवत् नेपाल सरकारको दस्तावेजमा लेख्नेगरी, माइन्युटमा लेख्ने गरी लैजाने मैले प्रतिबद्धता व्यक्त गरेको छु। पद्मजीको सम्मानमा म त्यो ‘कमिटमेन्ट’ गर्न चाहन्छु,’ उनले भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।