काठमाडौं– नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा बाहिरबाट विविध खाले चिज प्रवेश गरिरहेको बताएका छन्। उनले अहिले नेपाली समाजमा असाध्यै तीव्र ढंगले इसाइ धर्म विकास भइरहेको बताए।
‘ठाउँठाउँमा अहिले यति धेरै चर्चहरू विकास भएका छन्। त्यो त हाम्रो मौलिक त होइन। अघिल्लो चुनावमा जाँदा केही पनि थिएन। अहिलेको चुनावमा जाँदा प्रत्येक वडामा चर्चहरू बनेका रहेछन्,’ सोमबार काठमाडौंको इतुंबहामा आयोजित एक कार्यक्रममा उनले भने।
उनले इसाइ धर्मको विस्तार किन भइरहेको छ? नेपाली मौलिकताहरूमा किन नेपाली जनता रुचि गरिरहन सकेका छैनन्? के कारणले मान्छेहरूले आफ्नो आस्था परिवर्तन गरिरहेका छन्? यो सबैले गम्भीर रुपले सोच्नुपर्ने विषय रहेको बताए। उनले यसले भोलि सांस्कृतिक द्वन्द्व र संकटहरू ल्याउन सक्ने चेतावनी पनि दिए।
खनालले विदेशी पैसामा हिन्दुवाद फैलाउने प्रयत्न भइरहेको बताए। ‘अस्ति भर्खरै हाम्रो पार्टीले मेची-महाकाली जागरण अभियान चलाएको थियो। त्यो बेलामा सबै जिल्लाका प्रशासन हेडसँग मैले कुरा गरेको थिएँ। कतिपय जिल्लामा कथित हिन्दूवाद फैलाउनका निम्ति ८–८ वटा संगठनहरू बनाइएका छन्। जसको वित्तीय स्रोत सबै विदेशी,’ उनले भने।
खनालले विदेशीबाट पैसा लिने, अनि यहाँ प्रचारप्रसार गर्ने काम भइरहेको बताए। ‘मान्छेका मनहरू किन्ने, मान्छेका हृदयहरू किन्ने अभियानहरू चलिरहेको छ,’ उनले भने, ‘हामीले राम्ररी बुद्धि पुर्याएर नचलाउने हो भने अनेक खालका बाह्य शक्तिहरूको खेल भूमिमा परिणत हुने हो कि भन्ने डर पनि छ, सांस्कृतिक रुपले पनि।’
खनालले नेपाली जनताले देशको स्वाभिमान, मौलिकता, सार्वभौमसत्ता, अखण्डतालाई बचाउन देशका सम्पूर्ण सांस्कृतिक, परम्परागत निधिहरूलाई जोगाउने र देशलाई सामाजिक आर्थिक रुपान्तरणको दिशामा तीव्र रुपले अगाडि बढाउँदै साँच्चिकै एउटा समृद्ध देशमा रुपान्तरण गर्न सबैले बडो होशियार भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।