काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीमाथि प्रश्न उठाउने दुस्साहस भइरहेको बताएका छन्।
मानवअधिकारवादी नेता तथा वाम बुद्धिजीवि पद्मरत्न तुलाधरको पाँचौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीले भने, ‘अहिले विभिन्न कोणबाट माथि नै प्रश्न उठाउने दुस्साहस भएको छ। यसलाई नयाँ पुस्तामा कसरी हामी यहाँ आइपुगेको हो भन्ने बुझाउनु आवश्यक भएको छ। यसका लागि संघर्ष गर्नुहुने पद्मरत्नको योगदान उनको स्मृति दिवसका सन्दर्भमा झनै आवश्यक बनेर गएको छ।’
उनले जनयुद्धका समयमा रोल्पामा गएको स्मरण गर्दै पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना दुवैले जनयुद्धलाई राजनैतिक आन्दोलनको रुपमा व्याख्या गरेको उल्लेख गरे।
प्रधानमन्त्री प्रचण्डले भूमिगतरुपमा अन्य दलहरुसँग सहमति र शान्तिको वातावरण बनाउन उनीहरुको भूमिका रहेको उल्लेख गर्दै सांस्कृतिक र भाषिक सम्मान आन्दोलन तथा जातीय पहिचान र वर्गीय उन्मुक्तिका निम्ति निरन्तर आवाज उठाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।